काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा एउटा न्यून चापीय प्रणाली बनेको छ । उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ ।
हाल देशका विभिन्न भागको मौसममा बदली आएको छ । कोशी र बागमती प्रदेशका सबै भू-भागका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहँदा मधेस प्रदेशमा आंशिक बदली भएको छ ।
देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ । यस्तै, कोशी र बागमती प्रदेशका थोरै स्थान र गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशका हिमाली र पहाडी भू-भाग, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधारणतया बदली रहने छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने आंशिक बदलीसम्म हुनेछ ।
मौसम विभागका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्छ ।
त्यसैगरी, मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने छ ।