सुरुङमार्ग सञ्चालन भएपछि इन्धन र समयको बचत कति हुन्छ?

0 Shares

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ । सन् २०१९ को १४ नोभेम्बरदेखि निर्माण थालिएको नागढुङ्गा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रुपमा सवारीसाधन गुडाइँदै छन् ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले साउन ११ गते सुरुङमार्ग उद्घाटन गरेर सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । ‘नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी अघि बढाएका छौँ, पूर्वाधार विकास मन्त्रालय, जाइकाका प्रतिनिधिलगायतको उपस्थितिमा सञ्चालनमा ल्याउने छौँ,’ उनले भने, ‘सुरुङमार्ग तयार हुने काम त धेरै अघि भइसकेको थियो, सुरुङमार्गको पश्चिमतर्फ पहिरोको समस्या देखिएकाले केही समय लागेको हो, सुरुङभित्रको आवश्यक सुरक्षालगायतका व्यवस्थापनमा पनि केही समय लागेजस्तो देखिएको हो ।’

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा सिस्नेखोला वरपर हुने घण्टौँको ट्राफिक जामको पनि अन्त्य हुनेछ । त्यति मात्रै होइन, सवारी चापमा लाग्ने समय र इन्धन र समयमा पनि बचत गराउने छ । आयोजना निर्देशक नेपालले सुरुङमार्ग सञ्चालन भएसँगै ठूला सवारीसाधनको लाग्ने समयमा ३५ मिनेट र साना सवारीसाधनको लागि २० मिनेट छिटो हुने बताए ।

‘सुरुङमार्ग सञ्चालनमा आएपछि मोटामोटी तीन किलोमिटर दुरी घट्ने हो,’ उनले भने, ‘उकालो, घुमाउरो बाटो छल्ने भएकाले पनि ठूला सवारीसाधनको लागि कम्तिमा पनि ३५ मिनेट बचत हुनेछ ।’

आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा-नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा धेरै साना तथा ठूला सवारीसाधन गुड्ने गर्छन् ।

आयोजनाका निर्देशक नेपालले नागढुङ्गा-नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिने सवारीसाधनमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुई पाङ्ग्रे सवारीसाधन भने चलाउन पाइने छैन ।

सम्बन्धित समाचार