काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते सुरुङमार्ग शिलान्यास गरेका थिए । ओलीको नाम अंकित शिलालेख तोडफोड गरी गायब बनाइएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् ।
आज सुरुङमार्ग उदघाटनको क्रममा पूर्वाधार विकास मन्त्री लम्सालले भने हराएको शिलालेख खोजेर पुनर्स्थापना गर्ने बताए । नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६÷६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा। बाबुराम भट्टराईको पालामा भएको थियो । सुरुङमार्गको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए । गरेका थिए । मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अहिले बालेन प्रधानमन्त्री भएका बेला सुरुङमार्ग औपचारिक उदघाटन गरिएको छ ।
पूर्वाधार विकास मन्त्री लम्सालले अब देशैभर यस्ता सुरुङमार्गहरु बन्ने बताए । ‘अब देशैभरी यस्ता टनेल बन्छन्, यो टनेलले धेरै कुरा सिकायो, हामी टनेल युगमा प्रवेश गरेका छौं,’ उदघाटनपछि मिडियासङ्ग कुरा गर्दै मन्त्री लम्सालले भने ।
जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋणमा नेपालको पहिलो अत्याधुनिक सडक सुरुङ मार्ग निर्माण गरिएको हो ।