काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा रहेको समावेशी र समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठुलो उपलब्धि भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको संसदको स्वरूप क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको उल्लेख गर्दै यसलाई ‘रगतले लेखिएको कथा’ को संज्ञा दिए।
सम्बोधनका क्रममा उनले भने, “परिणामका दृष्टिले सानो-ठूलो जे सुकै भए पनि यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु र उत्पीडित समुदायको इन्द्रधनुषी प्रतिनिधित्व हुनु मेरो पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ।”
प्रचण्डले संसदको रूपान्तरणलाई तथ्यांकसहित तुलना गर्दै समावेशी प्रतिनिधित्वमा ठुलो उपलब्धि हासिल भएको दाबी गरे। विगतको सशस्त्र संघर्षलाई स्मरण गर्दै उनले थपे, “यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ। पिठ्यूँमा दुधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ।”
आफूलाई यो समावेशी प्रतिनिधित्वप्रति गर्व रहेको बताउँदै प्रचण्डले भने, “यो सम्मानित संसदमा जसको प्रवेश भए पनि म आफैँ प्रवेश गरेजस्तो लाग्छ। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए उत्पीडित समुदायका प्रतिनिधिहरू कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्थे ?”
पार्टी जुनसुकै भए पनि समावेशी प्रतिनिधित्वमा आफ्नो रगत र पसिना बगेको भन्दै उनले क्रान्तिको मशाल आफैँले बालेको दाबी गरे।