भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

0 Shares

कर्णाली । असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाले सुर्खेत-दैलेख-कालीकोट-बाजुरा हुँदै हुम्ला जोड्ने कर्णाली करिडोर र सुर्खेत-दैलेख-कालीकोट हुँदै जुम्ला तथा मुगु जोड्ने कर्णाली राजमार्गअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका १ खच्चा, कालीकोटको शुभकालिका गाउँपालिका १ गगने खोला, एस मोड र सुर्खेतको बराहताल गाउपालिका ७ को औलिसेमा गएको पहिरोले करिडोर तथा राजमार्ग दुवै अवरुद्ध भएको छ ।

त्यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका २ सम्लेखोलामा गएको पहिरोले मध्यपहाडी राजमार्ग, सल्यानको कपुरकोट गाउँपालिका ५ खारखोलामा गएको पहिरोले राप्ती राजमार्ग बन्द भएको प्रवक्ता राठौरले बताए ।

उनका अनुसार सल्यानकै बनगाड कुपिण्डे नगरपालिका ८ को र्यालेमा गएको पहिरोले सुर्खेत-सल्यान र त्रिवेणी गाउँपालिका ३ ढुङ्गेबगरमा गएको पहिरोले लुहाम-कालीमाटी सडकखण्ड अवरुद्ध भएका छन् ।

त्यसैगरी, जाजरकोट छेडागाड नगरपालिका ४ लेवाभिर, कालीकोट तिलागुफा नगरपालिका १ भिग्म, जुम्ला तातोपानी गाउँपालिका १ बाइराँका र राँकागाउँ बीचको सडकखण्ड, मुगु रारा छाँयानाथ नगरपालिका ७ र ८ पिनास्थित गमगढी-नाग्म सडकखण्ड पनि बन्द भएको छ ।

यद्यपि, सडक सञ्चालनका लागि पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्ला, जाजरकोट सल्यान र सुर्खेतबाट जेसिबी तथा स्काभेटरलगायतका उपकरण पठाएको प्रवक्ता राठौरले बताए ।

सम्बन्धित समाचार