पूर्वप्रधानन्यायाधीश चोलेन्द्र निवासबाटै पक्राउ, प्रहरीले किन पक्राउ गर्‍यो?

0 Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई महाराजगञ्जस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयमा परेको एक उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको हो । विगत लामो समयदेखि विभिन्न विवादमा तानिँदै आएका जबराविरुद्ध परेको उजुरीको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

उनीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि लामो समय निलम्बनमा रहेकै अवस्थामा उनको कार्यकाल सकिएको थियो । हालै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनीविरुद्धका रिटहरू खारेज गर्दै पेन्सनलगायतका सुविधा पाउने बाटो खुला गरेको थियो ।

लामो समयसम्म पेन्सन सुविधासमेत नपाएका उनले आफ्नो सेवा सुविधा पाउने आधार तयार भएसँगै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका जबरालाई थप कानुनी प्रक्रिया र आवश्यक अनुसन्धानका लागि टेकु राखिएको बुझिएको छ ।

को हुन् चोलेन्द्र?

नेपालको खानदानी राणा परिवारका सदस्य चोलेन्द्र राणा प्रधानमन्त्री वीर शमशेर जबराका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर शमशेरका छोरा ईन्द्र शमशेरका नाति हुन् । चोलेन्द्रका बाबु युवराज शमशेर तत्कालिन राजसभा स्थायी समितिका सदस्य थिए ।

वकालत पेशा गर्दागर्दै चोलेन्द्र ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भए । लामो समय अस्थायी न्यायाधीश भएपछि विशेष अदालतको सदस्य पनि भए ।

पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भए । त्यसबेला संसदीय सुनुवाइ समितिमा एमाले र माओवादीले जबराको विपक्षमा मत दिएका थिए । तर, पछि उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधानन्यायाधीश बने ।

उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर, मन्त्रिपरिषद सदस्यको भागबण्डालगायतका काण्डमा मुछिएपछि उनी विवादित बने । उनीविरुद्ध कानुन व्यवसायीहरुले आन्दोलनसमेत गरेका थिए ।

सम्बन्धित समाचार