इरानमाथि अमेरिकी आक्रमणले विश्वभर संकट, अर्थतन्त्रदेखि खाद्यसम्म असुरक्षित

0 Shares

काठमाडौं । मध्यपूर्वमा जारी युद्धबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ । अमेरिका र इजरायल मिलेर इरानमाथि हमला गर्दा विश्व अर्थ व्यवस्था संकटमा परेको हो ।

लगानीकर्ताले शान्ति वार्ताको आशा राख्दै शेयर बजारमा सुधार देखिए पनि तेल बजार अझै अस्थिर बनेको छ ।

प्रमुख अन्तर्राष्ट्रिय बजारमा शेयर सूचकांक बढेका छन् । तर, कच्चा तेलको मूल्य निरन्तर माथि गएको छ । ब्रेन्ट तेल करिब प्रतिब्यारेल १०० डलरको आसपास पुगेको छ । प्रमुख तेल आपूर्ति मार्गमा अवरोध हुँदा ऊर्जा संकट बढेको छ ।

जापानले तेल आपूर्ति स्थिर राख्न राष्ट्रिय भण्डारबाट थप तेल निकाल्ने घोषणा गरेको छ । सरकारले करिब २० दिन बराबरको तेल आपूर्ति बजारमा ल्याउने तयारी गरेको छ ।

यसअघि पनि मूल्य वृद्धि रोक्न जापानले आफ्नो भण्डार प्रयोग गरिसकेको थियो । यस कदमले विश्व बजारमा आपूर्तिको दबाब केही कम गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, अमेरिका र बेलायतका नेताहरूले महत्वपूर्ण जलमार्ग पुनः सञ्चालनका लागि व्यवहारिक योजना बनाउने विषयमा छलफल गरेका छन् । उनीहरूले शान्ति भए पनि तेल ढुवानी सहज बनाउन तत्काल कदम आवश्यक रहेको बताए ।

युरोपेली संघले कुनै पनि प्रकारको शुल्क वा कर बिना जलमार्गमा स्वतन्त्र आवतजावत सुनिश्चित हुनुपर्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क लिने प्रयास गरे कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

उनले तेल प्रवाह छिट्टै सामान्य हुने दाबी पनि गरे । यसले राजनीतिक तनाव अझै कायम रहेको देखाउँछ ।

यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोषले युद्धका कारण विश्व आर्थिक वृद्धि दर घट्ने चेतावनी दिएको छ । आपूर्ति शृङ्खला अवरुद्ध हुँदा ऊर्जा र खाद्य मूल्य बढ्ने र करोडौँ मानिस खाद्य संकटमा पर्ने सम्भावना रहेको बताइएको छ ।

विश्व बैंक र अन्य संस्थाहरूले प्रभावित देशहरूलाई आर्थिक सहायता उपलब्ध गराउने तयारी गरिरहेका छन् ।

युरोपमा ग्यास भण्डारण कम भएका कारण समयमै भण्डारण भर्नुपर्ने चेतावनी दिइएको छ । यदि, आपूर्ति सुधार भएन भने आगामी जाडोमा ऊर्जा अभावको समस्या गम्भीर हुन सक्छ ।

यसैबीच केही राहत स्वरूप युरोपेली विकास बैंकले प्रभावित अर्थतन्त्रका लागि ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ ।

साथै, एयरलाइन्स कम्पनीहरूले सुरक्षा जोखिमका कारण मध्यपूर्वका केही गन्तव्यमा उडान स्थगित गरेका छन् ।

सम्बन्धित समाचार