काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम १५ अर्ब रुपैयाँ नाघेको छ। सहयोग रकम थपिने क्रम जारी रहँदा कोषका विभिन्न खातामा गरी १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १ सय ६७ रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका नौवटा वाणिज्य बैंकमा रहेको नेपाली रुपैयाँको खातामा मात्रै ११ अर्ब २७ करोड २ लाख ६० हजार ६ सय ८५ रुपैयाँ मौज्दात छ।
त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७ सय २ अमेरिकी डलर मौज्दात छ। नेपाली र अमेरिकी डलर खातामा रहेको रकमलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कोषको कुल मौज्दात १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १ सय ६७ रुपैयाँ पुगेको कार्यालयले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावितका लागि सरकारले यसअघि नै कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ। बाढीपछि उद्धार, राहत तथा प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउन उक्त रकम निकासा गरिएको हो।
बाढीपछि प्रभावित क्षेत्रका लागि देशभित्र तथा विदेशबाट समेत आर्थिक सहयोग जुटिरहेको छ। कोषमा रकम थपिँदै गए पनि प्रभावित क्षेत्रमा राहत, अस्थायी आवास, पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रको क्षति तथा पुनर्निर्माण आवश्यकताको मूल्यांकन गर्दै राहतपछि पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम अघि बढाउने तयारी गरिरहेको छ। कोषमा जम्मा भएको रकम प्रभावित क्षेत्रमा कसरी र कुन प्राथमिकताका आधारमा खर्च गर्ने भन्ने विषय पनि आगामी चरणमा महत्वपूर्ण हुनेछ।