काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरने भएको छ । नेकपा माओवादी केन्द्रले मधेस प्रदेश सरकार छाडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो ।
जसपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गर्न बैठक बसिरहेका छन् ।
यादवले प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफलसमेत गरेका थिए । छलफल सकारात्मक नभएसँगै माओवादी केन्द्रले आजै मधेसको सरकार छाडेको छ । एमालेले पनि प्रदेश सरकार छाड्ने तयारी गरेको छ ।
माओवादी केन्द्रले सरकार छाडेसँगै मधेस प्रदेशको जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपा नेपालका प्रतिनिधिसभामा पाँच सांसद छन् ।
संघीय सरकारमा जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु पर्ने छ ।