शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको मञ्चमा पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थिति आफूहरूलाई खट्किएको बताएका छन् ।

बुधबार खुलामञ्चमा महाधिवेशनको बन्दसत्र समारोहलाई समापन गर्दै सभापति थापाले पूर्वसभापति देउवा अनुपस्थित हुँदा आफूहरुलाई नमिठो लागेको बताएका हुन् । उनले निवर्तमान सभापति देउवाले लामो समय पार्टीका लागि संघर्ष तथा योगदान गरेको उल्लेख समेत गरे । उनले महाधिवेशनभन्दा बाहिर रहेका समेत साथमै लिएर अघि बढ्ने आफूहरुको इच्छा रहेको पनि बताए ।

उनले भने, ‘म यहाँ नआउनुभएका नेताहरुलाई पनि आग्रह गर्न चाहान्छु, महाधिवेशनको मञ्चबाट आग्रह छ, यो पार्टी तपाईं, हामी सबै मिलेर बनाएको पार्टी हो । श्रदेय पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा यति लामो संघर्ष गर्नुभएको छ । यो पार्टी निर्माणमा यति ठूलो योगदान छ । त्यसैले हामीलाई मिठो लागेको छैन । पार्टीमा लामो समय योगदान दिएका नेताहरु पनि यहाँ भइदिएको भए भन्ने लागेको छ, भोलिको दिनमा पनि हामी उहाँहरुलाई संगै लिएर जान चाहान्छौँ ।’

पार्टीमा विवादबारे सर्वोच्च अदालतको फैसला कुर्ने कुराले समयको बर्बादी मात्र गर्ने उनको भनाइ छ । पार्टीको राजनीतिक विषयमा पुनरावेदन गर्नुको सट्टा राजनीतिक रुपमै मिलाउनुपर्नेमा उनको जोड छ ।

सम्बन्धित समाचार