काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमितिका लागि बिहीबार बिहान हुने भनिएको मतदानको समय दोस्रोपटक सरेको छ ।
यसअघि, बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि तयारीका लागि भन्दै दिउँसो १ बजेसम्मका लागि सारिएको थियो । अहिले फेरि मतदानको समय २ बजेलाई सरेको हो ।
मतदानअघि राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्रीका उम्मेदवारहरुसँग छलफल गरेको थियो । छलफलमा मतदान २ बजेदेखि सुरु गर्ने सहमति भएको हो ।
सहमतिअनुसार बागमती प्रदेशको मतदान राष्ट्रिय सभा गृहमा र अन्य अन्य प्रदेशको मतदान खुल्ला मञ्चमा हुनेछ ।महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् ।
सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।