काठमाडौं । आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो ।
नेपाली टोलीले विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएकाले टोलीलाई आज बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ ।
बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई विश्वकपका लागि शुभकामना दिए । कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए ।
‘तयारी राम्रो भइरहेको छ। अभ्यास खेलले पनि राम्रो बिल्डअप भएको जस्तो लाग्छ’, उनले भने, ‘सन् २०२५ एकदम राम्रो भएको थियो। आशा छ यो वर्ष पनि राम्रो हुने छ। हामी समग्र नेपालीलाई प्राउड फिल गराउने छौं ।’ प्रशिक्षक स्टुअर्ट लले पनि विश्वकपमा राम्रो गर्ने बताए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
नेपाली टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ ।
विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा भइसकेको छ ।