काठमाडौं । विश्वका अग्ला हिमालहरूमध्ये एक मानिने पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परी नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय पर्वतारोहण टोली बेपत्ता भएको बिबीसीले जनाएको छ ।
पाकिस्तानको कराकोरम पर्वतशृङ्खलामा रहेको आठ हजार ४७ मिटर अग्लो उक्त हिमालमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको छ । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बताएका छन् ।
आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच जना नेपाली नागरिक रहेको बताइएको छ । अभियानको नेतृत्व गरिरहेका निर्मल पुर्जा सन् २०१९ मा ६ महिनाभन्दा केही बढी अवधिमा विश्वका आठहजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर विश्वव्यापी रूपमा चर्चित बनेका थिए ।
मौसम अनुकूल भएमा खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत खोजी अभियान सञ्चालन गर्ने अपेक्षा गरिएको सामाचारमा बताइएको छ ।