नेप्से ३.२४ अंकले घट्यो, फाइनान्स कम्पनीहरुमा लगानीकर्ताको आकर्षण

0 Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरु फाइनान्स कम्पनीहरु तर्फ आकर्षित भएका देखिएको छ। यस दिन नेप्से परिसूचक घटेपनि फाइनान्स उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ।

बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३।१३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। घटेर परिसूचकहरुको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।

यस दिन शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ५ फाइनान्स कम्पनी रहेका छन्। जसमध्ये मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्तको शेयरमूल्य ६.७९ प्रतिशत बढेको छ। यस दिन सबैको लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.८३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन मल्टीपर्पस फाइनान्सको करिब साढे ९ करोडको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स पावरको साढे ८ करोडको शेयर किनबेच भएको छ।

यस दिन नेप्से परिसूचक ३.२४ अंक घटेर १९६५.९३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।१४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ४२ हजार १६ पटकको कारोबारमा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सम्बन्धित समाचार