काठमाडौं । नेपाली क्रिकेटको प्रतिष्ठित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को टू-व्हीलर पार्टनर बजाज पल्सर बनेको छ । दोस्रो संस्करणका लागि टू-व्हीलर पार्टनर बनेको बजाज पल्सरले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिवमा पारस खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात् बोल्दै खड्काले भने, ‘नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता मानिने एनपीएल र देशकै लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाज पल्सरबीचको यो सहकार्यलाई नेपाली खेल क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छु ।’
साथै, एनपीएल टू–व्हीलर पार्टनरको रूपमा बजाज पल्सर भएसँगै खेललाई अझ रोमाञ्चक बनाउन यसको योगदान पनि विशेष हुने खड्काले अपेक्षा लिए ।
‘बजाज पल्सर जस्तो लोकप्रिय मोटरसाइकल ब्रान्डले लिगमा सहभागी हुँदा यसले खेलको आकर्षण मात्र बढाउने छैन, युवा दर्शकहरूमा पनि नयाँ ऊर्जा र उत्साह थप्नेछ,’ खड्काले सम्झौता कार्यक्रममा भने ।
एनपीएलमा सर्वाधिक विकेट लिने, रन बनाउनेलाई र ईमर्जिङ प्लेअरलाई सम्झौता अनुसार गोल्छा ग्रुपले एक-एक थान मोटरसाइकल दिने छ । एनपीएलका आयोजक समितिले बजाज पल्सरसँगको सहकार्यलाई नेपाली क्रिकेटको विकास र व्यवसायीकरणको दृष्टिले महत्वपूर्ण उपलब्धि हुने बताइएको छ ।
एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म हुनेछ ।
यस्तै, सम्झौतासँगै प्रबन्ध निर्देशक गोल्छाले एनपीएल र बजाज पल्सरको सहकार्यले खेलकुद, व्यवसाय र युवा संस्कृतिको सशक्त संयोजन प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।
‘बजाज पल्सर सधैं युवाको जोश, साहस र गतिशीलताको प्रतीक रहँदै आएको छ, क्रिकेट पनि उस्तै जोश र समर्पणको खेल हो, उनले भने, ‘त्यसैले नेपाल प्रिमियर लिगसँगको यो सहकार्यले व्यवसायीक र खेल उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण योग्दान पुर्याउने छ ।’