चौथो खेलमा मलेसियामाथि नेपाल विजयी

0 Shares

काठमाडौं । महिला ट्विन्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ ।

मलेसियामा भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २-२ को बराबरी भएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो । दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

आज मलेसियाले दिएको ११२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै, रुबिना क्षेत्रीले २३ बलमा २३ रन बनाइन् । मलेसियाका लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १११ रन बनाएको थियो । उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् ।

नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक-एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

सम्बन्धित समाचार