नाडा अटो शोमा १९ लाखदेखि सवा २ करोडसम्मका गाडी, सबैभन्दा भिड फ्लाइङ कारमा

0 Shares

काठमाडौं । भृकुटीमण्डपमा मंगलबार सुरु भएको नाडा अटो शो २०२५ मा १९ लाखदेखि २ करोड २० लाख रुपैयाँसम्मका नयाँ गाडी सार्वजनिक भएका छन्। अटो शोमा आधा दर्जन नयाँ मोडल सार्वजनिक भएका छन्।

नाडा अटो शोमा सबैभन्दा सस्तो गाडी जेनपेङ ब्रान्डका रहेका छन् । यो ब्रान्डको आधिकारिक विक्रेता ठाकुर मोटर्स नेपालको लिनबाक्स इसी०१ गाडी १८ लाख ९९ हजार रुपैयाँमा बिक्री शुरु गरेको छ। २ वटा भेरियन्टमा यो गाडी उपलब्ध रहेको छ। यो ईभीमा १९.२६ किलोवाट आवर ब्याट्री रहेको छ। प्रिमियम भेरियन्टमा ३१.४५ किलोवाट आवरको ब्याट्री छ। दुबै भेरियन्टमा ३५ किलोवाटको मोटर रहेको छ। प्रिमियम गाडीको मूल्य २३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोपछि कम्पनीले यो गाडीको मूल्य बढाउने बताएको छ ।

नाडा अटो शोमा सबैभन्दा महँगो गाडीको रुपमा भने सिजी मोटर्सले एक्सपेङ एक्स ९ सार्वजनिक गरेको छ। कम्पनीले एक्सपेङ जी ६ बिक्री गर्दै आएकोमा प्रिमियम भर्सन नाडा अटो शोमा शोकेश गरिएको छ। गाडीमा २३५ किलोवाट मोटर र ८४.५ किलोवाट आवरको ब्याट्री रहेको छ। गाडीले ४८० किमी रेन्ज दिने दाबी गरिएको छ।

यसैगरी टाटाले प्रिमियम गाडी सफारी सार्वजनिक गरेको छ। सफारी ३ वटा भेरियन्टमा रहेका छन्। म्यानुअल भेरियन्टको १ करोड २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। अटोमेटिक भेरियन्टको १ करोड २९ लाख ९९ हजार र डार्कमा १ करोड ३१ लाख रुपैयाँ रहेको छ। अटो शोमा टाटाका नेक्सन के ३, कर्भ ईभी देख्न पाइन्छ।

नाडा अटो शोमा जीली इएक्स ५ र जेवाई एयरका गाडीहरु औपचारिक रुपमा सर्वाजनिक गरेको छ। ड्रिमस्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले टेष्ट्र डाइभ र खरिद गर्न सक्नेछन्। जीले इएक्स ५ म्याक्सको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ। एक्स५ प्रो भने ५४ लाख ९९ रुपैयाँमै खरिद गर्न सकिन्छ।

एलआरआरले जेवाई एयरका प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ। सुरुमा ६८ लाख मूल्य रहेको अल्ट्राको अहिले ६४ लाख ९९ हजार छ। सुरुमा ५४ लाख मूल्य भएको लाइट केवल ४९ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन्।

बीवाईडी अटो २ भने ४३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको छ। अट्टो १ र अटो ३ को बीचको गाडी नाडा अटो शोमा सार्वजनिक गरिएको हो। १०० किलोवाट मोटर पावर रहेको गाडीमा ३४५ किमी रेञ्ज रहेको छ। ५१.१३ किलोवाट आवर ब्याट्रि रहेको छ। २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको गाडीको लम्बाई ४ हजार ३१०, चौडाई १८ सय ३०, उचाई १६ सय ७५ रहदाँ ह्विलबेस २६ सय २० छ।

एमएडब्लु वृद्धिले नामी भिगो ३७ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ। यसको टप भेरियन्टको मूल्य ४० लाख ९९ हजार रुपैयाँ रहेको छ।

एमएडब्लु ग्रुपले एस ०५ गाडी कम्प्याक्ट सेग्मेन्टमा अझ बढी परिस्कृत गरेर ल्याएको जनाएको छ। गाडीको मूल्य ४८.९९ हजार रुपैयाँ तोकिएको छ। टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ। गाडीमा १७५ किलोवाट मोटर र ५६.१ किलोवाट आवर ब्याट्रि रहेको छ। केही दिन अघि सार्वजनिक गरिएको गाडीको रेञ्ज ५१० किमी रहेको छ। नयाँ एस०५ मा रिमोट इन एन्ड आउट पार्किङ छ जसले साँघुरो पार्किङ स्पेसमा पनि सहजै पार्क गर्न मद्दत गर्नेछ ।

सुजुकीले नेपालमा पहिलो पटक आफ्नो विद्युतीय गाडी अटो शोमा शोकेश गरेको छ। नाडा अटो शोमा यसको बुकिङ खुला भएको छ । कम्पनीका अनुसार ई–भिटाराको डेलिभरी आगामी अक्टोबरदेखि हुनेछ। बीवाइडीको चर्चित ब्लेड टेक्नोलोजीको ब्याट्री प्रयोग भएको ई भिटारामा ६१ र ४९ किलोवाट आवरको दुई ब्याट्री अप्सन छन्।

एक पटकको चार्जमा ५०० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ। ग्राउन्ड क्लियरेन्स १८० एमएम छ। यसमा एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट र टेललाइट रहेको छ। यसको फ्रन्ट ग्रीलमा एक्टीभ एयर भेन्ट्स दिइएको छ। १८ इन्चको ह्वील रहेको यो ईभीमा प्यानारोमिक सनरुफ छ।

सबैभन्दा भिड फ्लाइङ कारमा
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको फ्लाइङ कारमा सबैभन्दा बढी भिड देखिएको छ। यो गाडी बिना ड्राइभर २ जना यात्रु लिएर गन्तव्यमा पुग्न सक्छ।

यो गाडी तत्कालको लागि विक्री र उडान गर्नको लागि ल्याइएको होइन। नाडा अटो शोपछि यो गाडी चीन नै फर्काइने छ। तातोपानी नाकाबाट भित्रने सडक बिग्रँदा यो कार १०० मिटर मानिसले काँधमा बोकेर ल्याएको थिए।

नाडा अटो शोमा दौरासुरुवाल लगाएको रोबोट पनि आकर्षणको केन्द्र बनेको छ । यो रोबोटले मानिससँग अन्तरक्रिया गर्ने बताइएको छ ।

त्यसबाहेक अटो शोमा हिरो र यामाहाले नयाँ दुईपांग्रे गाडी सार्वजनिक गरेका छन्। एक दर्जन कमर्सियल गाडी समेत शोमा देख्न पाइन्छ। यसैगरी नाटा अटो शोमा भिन्टेज कारहरु पनि हेर्न सकिन्छ ।

सम्बन्धित समाचार