जिउँदै मान्छे जलाएको आरोपमा सफाइ पाएका आलमविरुद्ध महान्यायाधिवक्ता सर्वोच्च जाने

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने भएको छ ।

बिहीबार आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्णय भएको सहन्यायाधिवक्ताले जनाएको हो । उच्च सरकारी कार्यालय वीरगञ्जले मिसिल तयार गरेर पुनरावेदनको रायसहित गत साता प्रतिवेदन पठाइसकेको छ । उक्त प्रतिवेदन अध्ययनपश्चात् पुनरावेदनमा जाने निर्णय भएको हो ।

शुक्रबार नभए आइतबारसम्म पुनरावेदन दर्ता गर्ने तयारी रहेको छ । २०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो दिन आलमका काका शेख इद्रिसको गोठमा विस्फोट भएको र उक्त घटनाका घाइतेलाई इँट्टा भट्टामा जिउँदै पोलेर हत्या गरेको अभियोग आलमसहितका प्रतिवादीमाथि थियो ।

घाइतेलाई जिउँदै जलाइएको अभियोगमा २०८१ वैशाख १३ गते जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको थियो । उच्चले उक्त फैसला उल्टाउँदै आरोपी सबैलाई सफाइ दिएको हो ।

आलमलाई सफाइ दिएपछि न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । घटना नै नभएको भन्दै अन्यायपूर्ण फैसला गर्ने न्यायाधीशमाथि कारबाही गर्न मागसहित उक्त घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले उजुरी दिएका हुन् ।

सम्बन्धित समाचार