रौतहट। रौतहटको सीमावर्ती क्षेत्रमा मोटरसाइकलको सिटभित्र लुकाएर ल्याइएको स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासहन गाउँका करिब ३३ वर्षीय टुना दास रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान करिब १० बजे बौधिमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा सवारी जाँचका क्रममा उनी पक्राउ परेका हुन् ।
प्रहरी चौकी बंकुलबाट खटिएको टोलीले बाराबाट रौतहटतर्फ आउँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको भारतीय मोटरसाइकल रोकेर जाँच गर्दा सिटभित्र लुकाइएको अवस्थामा नगद रकम फेला पारेको थियो ।
प्रहरीले मोटरसाइकलको सिटभित्रबाट एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट बरामद गरेको छ। बरामद नोटको कुल मूल्य १० लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए ।
डीएसपी गौतमका अनुसार बरामद रकमको स्रोत र प्रयोजन खुल्न नसकेपछि नगदसहित दासलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । रकम कहाँबाट ल्याइएको हो र के प्रयोजनका लागि लगिँदै थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।