वैदेशिक रोजगारीमा विदेश पठाइदिने भन्दै लाखौँ ठगी गर्ने पक्राउ

0 Shares

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनीबेँसी नगरपालिका १ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका २ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका ५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका ४ का ३८ राजेश बराम रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले युके पठाइदिने भन्दै सात लाख ५० हजार, खत्रीले माल्टा पठाइदिने भन्दै छ लाख, तामाङले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै दुई लाख र बरामले सिङ्गापुर पठाइदिने भन्दै १५ लाख ५० हजार रकम लिएका थिए ।

विदेश पठाइदिने भन्दै रकम लिएपछि उनीहरूले पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका चारै जना माथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार