काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको बताएकी छन्। सोमबारको संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन्।
यस्तै,उनले सरकार उनको रिहाइका लागि प्रयासरत रहेको समेत सदनलाई जानकारी गराइन्। ‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ । सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपिल गर्नुभएको छ। सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छु, उनले भनिन्।
उनको रिहाइका लागि आफूले कतार संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरूलाई पत्र लेखेर अनुरोध गरिरहेको उनको दाबी छ।