काठमाडौं । प्रहरीले बुधबार साँझ धनकुटामा बारले घेरेर राखिएको ८ वर्षीय एक बालकको उद्धार गरेको छ।
छथरजोरपाटी गाउँपालिका वडा-५ परेवादिनस्थित गोठमा राख्दै आएको सुहाङ लिम्बूलाई प्रहरीले उद्धार गरेको हो। उनलाई दुई महिनादेखि बाँसको टाटीले बारेर बनाइएको गोठमा बालकलाई राख्ने गरेको सूचना प्राप्त भएपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
‘हामीले बाँसले बारेर बनाइएको गोठजस्तो संरचना भत्काइदिएका छौं,’ उनले भने, ‘बालकको मानसिक सन्तुलन ठीक नभएको भन्दै थुनेको पाइएको छ।’ तेह्रथुम फेदाप गाउँपालिका वडा-१ घर भएका सोमकुमार लिम्बू परिवारसहित ससुरालीमा बस्दै आएका छन्।
एक वर्षदेखि धनकुटामा बस्दै आएका दम्पतीका सुहाङ एक्ला छोरा हुन्। आर्थिक अवस्था न्यून भएका परिवारले छोरालाई एकजनाले छोड्ने नमिल्ने भएपछि गोठ बनाएको प्रहरीलाई बताएका छन्। दम्पतीले प्रहरीलाई बताएअनुसार पहिलादेखि नै सुहाङ चकचके, हरेक कुरा सुँघ्ने, सडकमा दौडिरहने गर्थे। जसले गर्दा एकजनाले उनलाई हेरिरहनुपर्थ्यो।
उमेर बढ्दै जाँदा पनि छोराको व्यवहारमा केही परिवर्तन नआएपछि स्कुल समेत नपठाएको दम्पतीले प्रहरीलाई जानकारी दिए।’हामीले धेरै धामी झाक्री गर्यौं,’ दम्पतीले प्रहरीलाई भनेका छन्, ‘जति गर्दा पनि निको भएन।’
उनीहरूले छोरालाई अस्पताल भन्दा पनि धामी-झाक्री र मठमन्दिरमा पुर्याएरको दाबी गर्छन्। मानसिक रूपमा केही समस्या भएको जनचेतना नै नभएकाले पनि उनलाई गोठमा थुनेर राख्ने गरेको बताएका छन्।
उनीहरूले बिहान खाना खाएर आफू काममा जाने बेलामा गोठमा राखेर जाने र साँझ फर्किएर घरधन्दा सक्काएपछि उनलाई घरमा सुताउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।