काठमाडौं । नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी २१ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभा धर्मदेवी नगरपालिका ३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए ।
उनले गत मंसिर ८ गते धनकुटा नगरपालिका ४ घर भई हाल भक्तपुर मध्यपुरथिमी ६ बस्ने ३९ वर्षीय प्रेमकुमार विकलाई नगद १० लाख र गत चैत ११ गते सुनसरी बराहक्षेत्र नगरपालिका १ घर भई हाल जिल्ला काठमाडौं न्युरोड बस्ने २४ वर्षीय राजकुमार विकलाई ११ लाख ८५ हजार ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको सूचना अधिकारी बोहोराले बताए ।