सांसद अपहरण गरी मन्त्री बनाएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता

0 Shares

काठमाडौं । बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ ।

पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार प्रदेशको मन्त्रीमा शपथ लिएको एक दिनपछि शुक्रबार हेटौँडामा हानेपाले पत्रकार सम्मेलन गरी सालिकराम जमरकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो ।

प्रदेश सरकारको कामप्रति असन्तुष्टि जनाउँदै हानेपाले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष इञ्जिनियर अनन्तराज घिमिरेले पार्टीका प्रदेशसभा सदस्य बज्राचार्यलाई राजनीतिक अपहरण गरी मन्त्री बनाइएको आरोप लगाए ।

पार्टी प्रवक्ता रोहन कार्कीले बागमती प्रदेशमा सत्तारुढ दलबाट फोहोरी खेल भएको भन्दै जमरकट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र पार्टी निर्णयविपरीत गएमा कारबाही गरिने बताए ।

मंगलबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको र अब मन्त्रीमा नजाने बताउँदै हानेपाका नेता बज्राचार्यले दुई दिनमा नै आफ्नो बोली फेर्दै मन्त्री पदमा शपथ लिन पुगेका थिए ।

हानेपाले मंगलबार इमेलमार्फत सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र पठाएको बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार