सरकारले वेवस्था गरेपछि श्रमदान र चन्दा जुटाएर गाउँलेले बनाए पदमार्ग

0 Shares

काठमाडौं । म्याग्दीका स्थानीय युवाले १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगंगा गाउँपालिका २ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।

बेनी-जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर-भिरपाटा हुँदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्याउने लक्ष्य छ ।

पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले १५ लाख २७ हजार सहयोग रकम जुटेकोमा १४ लाख ७७ हजार खर्च भएको जानकारी दिए ।

‘स्वदेशमा हुनेले श्रमदान गर्नु भएको छ भने विदेशमा हुने गाउँलेले नगद सहयोग गर्नु भयो,’ उनले भने, ‘सहयोग रकमबाट निर्माण सामग्री खरिद गरेर स्थानीयवासीको श्रमदान जुटाएर दुई किलोमिटर पक्की सिढीसहितको पदमार्ग निर्माण गरेका छौँ ।’

दाहसंस्कारका निम्ति शव घाटमा लैजाने पदमार्ग जीर्ण र जोखिमयुक्त भएकाले वडा कार्यालयसँग समन्वय गरेर गत पुसदेखि पदमार्ग निर्माण अभियान सञ्चालन भएको थियो ।

पदमार्ग निर्माणका लागि एक घरबाट पाँच दिनसम्म श्रमदान गरिएको निर्माण समितिका सचिव रवीन्द्र शर्माले बताए । उनले भने, ‘पदमार्ग निर्माणमा दैनिक १५ देखि ३० जनाको टोलीले निरन्तर श्रमदान गरेको थियो भने गाउँका आमा समूहले दैनिक निःशुल्क खाजाको व्यवस्था गरेको थिए ।’

गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेका लागि पदमार्ग निर्माण खटिएका युवाहरू उदाहरण बनेको रघुगंगा गाउँपालिका २ का वडाध्यक्ष अमृत भण्डारी बताउँछन् ।

सम्बन्धित समाचार