गृह मन्त्रालय अब हिजोको जसरी चल्दैन- गृहमन्त्री लामिछाने

0 Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।

बिहीबार साँझ गृह मन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए ।

“गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नु पर्छ, गृहमन्त्रीका रुपमा नागरिकका पक्षमा, आशा जगाउने गरी काम गर्ने छु,” गृहमन्त्री लामिछानेले भने ।

समस्या लिएर आउने सेवाग्राहीको काम तत्काल गरिदिन निर्देशन दिँदै उनले काम नहुने अवस्था छ भने कारणसहित सम्झाउन आग्रह गरे ।

उपप्रधानमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि दबाब दिने तथा गल्ती गर्दा बचाउन सिफारिस गर्ने विद्यमान प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै थपे, “अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहीँ कारबाही गर्छु ।”

उनले दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्न निर्देश गरे । अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनु पर्नेमा जोड दिँदै गुहमन्त्री लामिछानेले काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही गरिने बताए ।

सम्बन्धित समाचार