काठमाडौँ । पछिल्लो समय नेप्से परिसूचक निरन्तर बढ्दो क्रममा रहेको छ। नयाँ अर्थमन्त्री नियुक्ति भएसँगै बढेको नेप्सेले, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ।
नवनियुक्त अर्थमन्त्रीले लगानीकर्ताहरुको मनोबल उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेसँगै बजार बढ्न थालेको हो। त्यसैगरी, गत आइतबार अर्थमन्त्रीले पूँजीबजारका समस्या समाधान गर्न शेयर बजारका तीन नियमनकारी निकायहरुलाई सात दिनभित्र सुधार कार्ययोजना पेश गर्न निर्देशन दिएका थियो। यसैको सकारात्मक प्रभाव यस दिनको बजारमा परेको हो।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५८.५५ अंक बढेर २१११.२१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७६ अंक बढेको छ।
नेप्सेको वृद्धिलाई यस दिन भोल्यूमले पनि साथ दिएको छ। अघिल्लो कारोबार दिन अर्थात गत आइतबार २ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ८२ हजार ७४६ पटकको कारोबारमा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बुधबार ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सपोर्ट माइक्रोफाइनान्स, नाडेप लघुवित्त र अभियान लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर भने ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्सको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम साढे १६ कारोड नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.४४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ।