काठमाडौँ । नयाँ सत्तासमीकरणको प्रभावमा पछिल्ला दिनको धितोपत्र बजारमा असर परिरहेको छ । विशेषत अर्थमन्त्री को बन्ने भन्ने मुद्दामा नेप्से बढ्ने र घट्ने क्रम चलिरहेको थियो । यसैबीच बुधबार एकीकृत माओवादीका उपमहासचिव वर्षमान पुनः अर्थमन्त्री बन्ने टुङ्गिएको छ ।
नयाँ गठबन्धनमा लगानीकर्ताहरुले रुचाएका विष्णु पौडेल अर्थमन्त्रालयमा आउने खबरसँगै सोमबार सेयर बजार ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगाडि नै सर्किट लागेर बन्द भएको थियो । अघिल्लो दिन मंगलबार ७० अंकभन्दा बढीले घटेको बजार बुधबार ९.३३ अंक बढेको छ । यसस्ँगै सूचक २०१७.०३ विन्दुमा अडिएको छ। आज सेन्सेटिभ इण्डेक्स १.०६ अंक, फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले बढेका छन् ।
कारोबारमा आएका १३ मध्ये १० ओटा १० उपसमूहगत परिसूचक बढ्दा ३ ओटा घटेको छ । फाइनान्स सर्वाधिक १.६८ प्रतिशतले बढेको बजारमा ब्यापार १.३० प्रतिशत र अन्य १.१७ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड घटेको छ । बाँकी एक प्रतिशतभन्दा कम बढेका छन् ।
तीव्र उतारचढावपूर्ण रहेको आजको बजारमा कारोबार घटेर साढे ३ अर्बको सेयर खरिद बिक्री भएको छ। यसदिन ३०८ कम्पनीको ९१ लाख ३८ हजार कित्ता सेयर ५८ हजार ९४० ओटा संख्यामा खरिद बिक्री हुँदा कारोबार ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँमा समेटिएको छ। अघिल्लो दिन मंगलबार ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कारोबार रकमका आधारमा बुधबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार ८०७ रुपैयाँको ६ लाख ५७ हजार ७३९ कित्ता सेयर खरिद बिक्री भएको छ। यसैगरी शिवम् सिमेन्टको २७ करोड ८४ लाख, हिमालयन रि इन्स्योरेन्सको १३ करोड १ लाख, घोराही सिमेन्टको १२ करोड ९४ लाख र एनआरएन इन्फ्रास्टक्चरको ७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबारको बजारमा दोल्ती पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै स्वरोजगार लघुवित्त ८.७० प्रतिशत, जोशी हाइड्रोपावर ८.६७ प्रतिशत, गोर्खाज फाइनान्स ८.०९ प्रतिशत, सिवाईसी लघुवित्तको ८.० प्रतिशत बढेको छ ।
उता आजको बजारबाट मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.७१ प्रतिशतले गुमाएका छन् । कम्पनीको प्रतिकित्ता मूल्य ५३ रुपैयाँले घटेर ४९३ मा झरेको छ । यस्तै ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को ५.५४, गुराँस लघुवित्तको ४.५२, बिपीडब्लू लघुवित्तको ३.०४ र समता घरेलु लघुवित्तको सेयरको भाउ २.८४ प्रतिशतले होरालो लागेको छ ।
बुधबारको बजार घटाइपछि कुल बजार पुँजीकरण ३१ खर्ब ७० अर्ब ५० करोड ६६ लाख ९५ हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबार कुल बजार पुँजीकरण ३१ खर्ब ५५ अर्ब ८२ करोड ७१ लाख रुपैयाँमा थियो । आज मात्रै १४ अर्ब ६७ करोड ९५ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।