देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षा हुने

0 Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, न्यून चापीय क्षेत्र बङ्गालको खाडीको पश्चिम-मध्य भू-भाग आसपास रहेको छ ।

हाल बागमती प्रदेशका साथै देशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लागेको छ भने र तराई भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्ने छ । कोशी प्रदेशको धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको थोरै स्थानमा, बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार