काठमाडौँ । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ। यसअनुसार कम्पनीले सर्वसाधारणबाट कुल १५ करोड रुपैयाँ पुँजी संकलन गर्नेछ ।
निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर कार्यक्रममा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठको समेत उपस्थिति थियो ।
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउने उद्देश्यसहित स्थापना भएको लगानी कम्पनी हो ।
‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नाराका साथ कम्पनीले ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार तथा पर्यटनलगायत विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्दै आएको जनाएको छ ।