एक्स्ट्रिम इनर्जी ड्रिंकसँग अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’ सम्पन्न

0 Shares

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा’ सम्पन्न गरेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजना गरिएको ट्रफी टुर अन्नपूर्ण आधार शिविरसम्म पुगेर सम्पन्न भएको हो।

अन्नपूर्ण स्पाइकर किङ्सले च्याम्पियन ट्रफीलाई गण्डकी प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानमा पुर्‍याउँदै समर्थक, खेलाडी र स्थानीय समुदायसँग प्रत्यक्ष जोडेको थियो। अभियानको अन्तिम चरणमा ट्रफी अन्नपूर्ण आधार शिविरसम्म पुर्‍याइएको हो।

अभियानमार्फत नेपाली भलिबलको उपलब्धि र खेलाडीको यात्रालाई समर्थकमाझ पुर्‍याउँदै खेल संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। ट्रफी टुरका क्रममा विभिन्न स्थानमा खेलाडी, समर्थक तथा स्थानीय समुदायसँग भेटघाट र विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो।

नेपाल भलिबल लिग नेपालको पहिलो व्यावसायिक पुरुष फ्रेन्चाइज भलिबल लिग हो। पहिलो संस्करण २०८३ भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन भएको थियो।

प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्ससँगै काठमाडौं रेड्स, कर्णाली शिवराज, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्क्वाडर्स गरी ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए।

ऐतिहासिक फाइनलमा अन्नपूर्ण स्पाइकर किङ्सले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै एनभीएलको पहिलो संस्करणको उपाधि जितेको थियो। अन्नपूर्णले फाइनलमा २५–१५, २५–२० र २५–१८ को सेटमा जित निकालेको थियो।

पहिलो एनभीएल उपाधिसँगै अन्नपूर्ण स्पाइकर किङ्सले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो।

सम्बन्धित समाचार