दशैंमा नयाँ नोट नबाँड्ने राष्ट्र बैंकको तयारी

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंलाई लक्षित गरेर सर्वसाधारणका लागि नयाँ नोट वितरण नगर्ने भएको छ। हालै मुलुकका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षति तथा विपद्पछिको आर्थिक अवस्थालाई ध्यानमा राख्दै नयाँ नोट वितरण नगर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले दशैंका लागि नयाँ नोट बजारमा पठाउने तयारी नरहेको बताएका छन्। यसबारे औपचारिक सूचना छिट्टै जारी गरिने उनले जानकारी दिए।

प्रवक्ता पौडेलका अनुसार प्राकृतिक विपत्तिका कारण ठूलो मात्रामा भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने धेरै नागरिक प्रभावित तथा विस्थापित भएका छन्। यस्तो अवस्थामा सरकारको विपद्पछिको आवश्यकताको मूल्यांकन (पीडीएनए) को पूर्ण प्रतिवेदन आउन बाँकी रहेको र बाढीपहिरोबाट बैंकिङ क्षेत्रका ऋणी तथा व्यवसायीमा परेको प्रभावसमेत मूल्यांकन भइरहेको उनले बताए।

राष्ट्र बैंक अहिले विपद्बाट प्रभावित ऋणीको पहिचान, उनीहरूका समस्या सम्बोधन तथा आवश्यक राहत प्याकेज निर्माणमा केन्द्रित रहेको छ। प्रभावित उद्योगी, व्यवसायी तथा साना किसानका लागि कर्जा पुनर्संरचना, किस्ता भुक्तानीमा सहजीकरण तथा आवश्यक सहुलियत उपलब्ध गराउने विषयमा समेत नीतिगत तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ।

सुकिला नोटको सटही भने जारी रहने

नयाँ नोट वितरण नगरे पनि सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थामार्फत सफा तथा सुकिला नोट सटही गर्ने व्यवस्था भने कायम रहने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले पछिल्ला केही वर्षदेखि दशैं–तिहारलाई लक्षित गरेर ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउने अभ्यासलाई क्रमशः निरुत्साहित गर्दै आएको छ। नोट छपाइमा हुने सरकारी खर्च घटाउने, नोटको आयु बढाउने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकिङ प्रणालीमा रहेका सुकिला नोटको पुनःप्रयोगलाई प्राथमिकता दिइएको हो।

राष्ट्र बैंकले दशैंका समयमा अत्यधिक नगद कारोबारको सट्टा क्यूआर कोड, मोबाइल बैंकिङ तथा डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यम प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्ने जनाएको छ। साथै, बजारमा उपलब्ध सुकिला नोटको जतनपूर्वक प्रयोग गर्न पनि आग्रह गरिएको छ।

सम्बन्धित समाचार