फुटबलबाट सन्यास लिएका पेपेलाई रोनाल्डोको भावुक सन्देश

0 Shares

काठमाडौँ । पोर्चुगलका भेट्रान डिफेन्डर पेपेले गत राति फुटबल कयिरबाट सन्यास घोषणा गरेका छन् ।

सामाजिक सन्जालमा उनले एक भिडियो सार्वजनिक गर्दै फुटबलबाट बिदा लिएको घोषणा गरे । उनले सन्यास लिँदा सार्वजनिक गरेको भिडियो निकै भावुक बनाउने खालको छ ।

भिडियोमा देखिए अनुसार पेपेले आफ्नी श्रीमती र बच्चाहरूलाई सँगै राखेर सन्यासको निर्णय सार्वजनिक गर्छन् । सो दौरान उनले एउटा बाकसमा आफूले करियरमा लगाएका टिमहरूका जर्सी पालैपालो पट्याएर थन्क्याउँछन् भने आफ्नो बुट पनि त्यही बाकसमा राखेर बाकस बन्द गर्छन् । अनि, श्रीमति र छोराछोरीसँग अंकमाल गर्छन् । उनले आफ्नो भनाइ समेत सोही भिडियोमा राख्छन् ।

पोर्चुगलका कप्तान तथा घनिष्ट साथी क्रिस्टियानो रोनाल्डोसँगको एक तस्बिर हेरिरहँदा उनी भक्कानिँदै रोइरहेका हुन्छन् । समर्थक वा आलोचक जो भए पनि एक फुटबलप्रेमी जो कोहीलाई भावुक बनाउने गरी पेपेले गरेको सन्यास घोषणाको भिडियो साँच्चै भावुक बनाउनेखालको छ ।

पेपेले यसरी सन्यास घोषणा गरेपछि केहीबेरमै सहकर्मी रोनाल्डोले सामाजिक सन्जालमा एक सन्देश पोस्ट गर्दै भावुक बिदाइ सन्देश दिएका छन् । क्लब फुटबल तथा राष्ट्रिय टिममा लामो समय सहकर्मी भएर खेलेका तथा घनिष्ठ साथी समेत रहेका यी दुई खेलाडीको मित्रता अकाट्य रहेको छ ।

४१ वर्षका पेपेले फुटबलबाट सन्यास लिँदा रोनाल्डोले पनि भावुक बनाउने खालको सन्देश दिएका छन् ।पेपेसँ गको मित्रता र सहयात्राले आफ्ना लागि कति ठूलो अर्थ राख्छ भनेर व्यक्त गर्न आफूसँग कुनै शब्द नरहेको पेपेले रोनाल्डोको सन्देशमा उल्लेख गरेका छन् । सँगै खेलेको समय र जितेका कुरा भन्दा आफ्ना लागि पेपेसँगको मित्रता नै सबैभन्दा ठूलो सम्मान रहेको रोनाल्डोले बताएका छन् ।

रोनाल्डोले पेपेलाई ‘दाजु’ भन्दै सम्बोधन गरेर दिएको भावुक सन्देशमा भनिएको छ– ‘तिमीले मसँग कति ठूलो अर्थ राख्छौ भनेर व्यक्त गर्न पर्याप्त शब्दहरू छैनन्, मेरो साथी । हामीले त्यहाँ मैदानमा जित्नको लागि सबै कुरा जित्यौं । तर सबैभन्दा ठूलो उपलब्धि भनेको मेरो मित्रता र सम्मान हो । तिमी एक प्रकारको छौ मेरो दाइ । सबै कुराका लागि धन्यवाद ।’

सम्बन्धित समाचार