काठमाडौं । फाइनल खेलमा नेपाललाई पराजित गर्दै काभा वुमन्स नेसन्स भलिबलको उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा सम्पन्न खेलमा भारतले नेपाललाई ३-२ सेटले पराजित गरेको हो ।
भारतले उपाधि जितेसँगै नेपालको नक्सा भएको ट्रफी भारतीय टोलीले पाएको छ । यस ट्रफीमा भारतले मिचेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूभाग समावेश छ ।
यो नक्सा भएको ट्रफी भारतीय टोलीले आफ्नो देश लिएर जाने भएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विं.सं. २०७७ जेष्ठ ५ गते नेपालले नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
उक्त नक्समा सरकारले संविधान संशोधन गरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि समावेश गरेको थियो । यो नक्सा सार्वजनिक भएसँगै भारतले ठूलो विरोध गरेको थियो । यो क्रम अहिले पनि जारी छ ।
आजको खेलमा पहिलो सेट नेपाल २५-२३ ले विजयी भएको थियो । दोस्रो सेट भारतले २५-१४ ले जित निकाल्दा तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको थियो । चौथो सेट भारतले २५-२१ ले जित निकाल्दा पाँचौँ सेटमा पनि १५-५ ले जित निकाल्दै उपाधि रक्षा गरेको हो ।
छनौट चरणमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको थियो । उपाधि रक्षा गर्ने खेलमा नेपाल पराजित बनेसँगै प्रतियोगिता दोस्रो स्थान हासिल भएको छ ।