काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा सुरु गरेको छ। बोर्डले आगामी कार्तिक १९ गतेदेखि एचआईबी ई–पोर्टल (HIB e-Portal) मार्फत उक्त सेवा सञ्चालनमा ल्याउन लागेको हो।
बोर्डका अनुसार पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच प्रदान गर्दै सेवा सुरु गरिएको छ।
नयाँ प्रणालीमार्फत प्रदेश सरकार तथा स्थानीय तहले आफ्नै ड्यासबोर्डबाट स्वयं वा दर्ता सहयोगीमार्फत नागरिक तथा लक्षित लाभग्राहीलाई स्वास्थ्य बीमा कार्यक्रममा सामूहिक रूपमा आबद्ध गर्न सक्नेछन्। यसका साथै बीमा नवीकरण, योगदान रकम भुक्तानी तथा अभिलेख व्यवस्थापनसमेत गर्न सकिनेछ।
यसअघि स्वास्थ्य बीमा आबद्धता तथा नवीकरण प्रक्रियामा लाग्ने समय र प्रशासनिक झन्झटलाई कम गर्ने उद्देश्यले बोर्डले डिजिटल प्रणाली कार्यान्वयनमा ल्याएको जनाएको छ।
बोर्डले उक्त सेवा उपयोग गर्न इच्छुक प्रदेश सरकार तथा स्थानीय तहलाई सम्बन्धित प्रदेश तथा जिल्ला कार्यालयसँग समन्वय गरी डिजिटल आबद्धता तथा नवीकरण सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।
डिजिटल प्रणालीले स्वास्थ्य बीमाको सामूहिक आबद्धता प्रक्रियालाई सहज, व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै दर्ता प्रक्रियामा लाग्ने समयसमेत न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य बीमा बोर्डका प्रवक्ता तथा वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।