पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन बेपत्ता

0 Shares

काठमाडौं । पाल्पाको छुट्टाछुट्टै स्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् ।

पाल्पाको माथागढी गाउँपालिका-२ रुप्सेमा गएराति पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदी घाइते भएका थिए । उनलाई उद्धार गरी उपचारका लागि स्वास्थ्यचौकी पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको वडाध्यक्ष वोमबहादुर ठाडामगरले जानकारी दिए ।

पहिरोले घर पुरिने समयमा चिदीकी श्रीमती भने शौच गर्न गएका कारण सकुशल रहेको उनले बताए । अविरल वर्षाका कारण पहिरोले माथागढी गाउँपालिका-३ भैसक्ट्टामा दुई घर पुरिएको छ । पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

लिलबहादुर घर्ती मगरको घरमाथि आइतबार बिहान करिब साढे ४ बजे पहिरो खसेको हो। पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएको प्रहरीले जनाएको छ।

वडा अध्यक्ष तेजबहादुर घर्तीमगरका अनुसार पहिरोमा परेकाको उद्धारका लागि जनप्रतिनिधि, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन् । ठूलो पहिरो भएकाले उद्धारमा समय लाग्ने माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए ।

घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित समाचार