वर्षाका कारण भरिन लाग्यो मकवानपुरको कुलेखानी ड्याम

0 Shares

काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह बढेको छ।

आइतबार बिहान ९ बजेको मापनअनुसार यहाँ पानीको सतह १ हजार ५२६ मिटर पुगेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार जलाशयमा पानीको सतह अब एक मिटर बढेर १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइनेछ।

वर्षा निरन्तर भइरहेकाले जलाशयमा पानीको सतह थप बढ्न सक्ने भन्दै केन्द्रले सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ। जलाशयको पानीको सतह चेतावनी तहभन्दा एक मिटर मात्रै तल रहेकाले कुलेखानी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

नदी, खोला तथा जलाशयको तल्लो क्षेत्रमा रहेका नागरिकले जोखिमको अवस्था हेरी आवश्यक सुरक्षा सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि साइरन बजाएर पहिलो चरणको चेतावनी दिने जनाएको छ।

साथै, यो सूचना सम्बन्धित सबैसम्म पुर्‍याई सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सहयोग गर्न पनि केन्द्रले अनुरोध गरेको छ। लगातारको वर्षाका कारण जलाशयमा पानीको आगमन बढिरहेको अवस्थामा कुलेखानीको जलस्तरलाई निरन्तर निगरानीमा राखिएको छ।

वर्षा र जलाशयमा पानीको आगमनको अवस्था हेरेर आवश्यकताअनुसार थप सूचना तथा सतर्कता अपनाइने केन्द्रले जनाएको छ।

 

सम्बन्धित समाचार