काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् । उनी नरेन्द्र मोदी तेस्रो पटक भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन जान लागेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले भनिन्, ‘‘सम्माननीय प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय भएको छ, जानका लागि आवश्यक टोली निर्माण हुनेछ ।’
प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान भारत भ्रमणका लागि प्रस्थान गर्ने कार्य तालिका रहेको छ । पूर्वप्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता मोदीले स्थानीय समयअनुसार आइतबार साँझ ६ बजे शपथ ग्रहण गर्ने कार्य तालिका रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ स्वदेश फिर्ता हुने कार्य तालिका रहेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
१, सम्माननीय प्रधानमन्त्री ज्यूले भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउनु हुने ।
२, लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
३, हेटौँडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा श्री नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।
४, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा श्री पदम ओलीलाई नियुक्त गर्ने ।
५, मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने ।
६, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री तेजबहादुर राईलाई तोक्ने ।
७, जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने ।
८, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने ।
९, ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।
१०, भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने ।
यो पनि पढ्नुहोस्