काठमाडौं । पोर्चुगल वायुसेनाको ‘एयर शो’का क्रममा दुई विमान ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ । घटनामा अर्का पाइलट घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार पोर्चुगल वायुसेनाले बेजा एयर शोमा ६ वटा विमान सहभागी गराएको थियो । घटना स्थानीय समयअनुसार साँझ ४ः५ बजे भएको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार मृत्यु हुने पाइलट स्पेनका बासिन्दा थिए । दोस्रो पाइलटलाई सामान्य चोट लागेको वायुसेनाले जनाएको छ । पोर्चुगलका रक्षामन्त्री नुनो मेलोले घटनाप्रति दुःख व्यक्त गर्दै यस विषयमा छानबिन गर्न आदेश दिएका छन् ।
‘एयर शोमा छ वटा विमानहरू एरोबेटिक समूह थिए, जसमा स्पेनिश र पोर्चुगिज पाइलटहरू थिए, यो एयर शोको नाम याक स्टार्स राखिएको थियो, दुर्घटनाग्रस्त विमान याकोभलेभ याक ५२ थियो, जुन सोभियत संघले डिजाइन गरेको थियो,’ उनले भने ।
यो साहसिक कार्य हेर्न मानिस ठूलो संख्यामा आएका थिए । उपस्थित मानिसका अनुसार पहिले एउटा विमान तीव्र गतिमा गएर अर्को विमान पनि तीव्र गतिमा उड्दै छुन प्रयास गरेको थियो । त्यसपछि दुवै बादलमा गएर ठोक्किएको थियो । एजेन्सी