काठमाडौं। अस्ट्रेलियाले आप्रवासन नियन्त्रण गर्ने योजनाअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई भिसा दिने व्यवस्थामा कडाइ गर्ने भएको छ। अस्ट्रेलियामा अध्ययन गर्न आएका विद्यार्थीले विगतमा जस्तै आफ्नो परिवारलाई स्वतः ल्याउन नपाउने व्यवस्था लागू गर्न लागिएको हो।
अस्ट्रेलियाका गृह मामिलामन्त्री टोनी बर्कले बिहीबार राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै आप्रवासनसम्बन्धी नियममा परिवर्तन गर्न लागिएको जानकारी दिएका हुन्। उनका अनुसार सरकारले चालू आर्थिक वर्षमा शुद्ध विदेशी आप्रवासनलाई २ लाख ४५ हजारमा सीमित गर्ने र सन् २०२७–२८ मा २ लाख २५ हजारमा झार्ने लक्ष्य लिएको छ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार गत मार्चसम्मको १२ महिनामा शुद्ध विदेशी आप्रवासनबाट अस्ट्रेलियाको जनसंख्यामा २ लाख ९२ हजार १०० जना थपिएका थिए। अघिल्लो १२ महिनामा यस्तो संख्या ३ लाख ९ हजार ५०० थियो।
नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा अध्ययनका लागि आएका र भिसाको अवधि बाँकी रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो परिवारका सदस्यलाई पहिलेको जस्तो स्वतः अस्ट्रेलिया ल्याउन पाउने छैनन्।
४५ हजारभन्दा बढी आश्रितले विद्यार्थी भिसामार्फत आवेदन
अस्ट्रेलियाली सरकारी तथ्यांकअनुसार सन् २०२५–२६ मा ३ लाख ३७ हजार ४२७ विद्यार्थी भिसा जारी भएका थिए। तीमध्ये ४५ हजार ९९१ भिसा विद्यार्थीका आश्रित वा प्राथमिक आवेदकका परिवारका सदस्यका लागि जारी भएका थिए।
सरकारले नयाँ व्यवस्थाबाट आप्रवासनको संख्या घटाउने र विद्यार्थी भिसालाई परिवारसहित लामो समय बस्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्तिमा नियन्त्रण गर्ने जनाएको छ।
यद्यपि, नयाँ नियम सबै विद्यार्थीमा लागू नहुने भएको छ। यसअघि नै आफ्नो परिवारलाई भिसामा समावेश गरिसकेका विद्यार्थी, प्यासिफिक र आसियान मुलुकका विद्यार्थी तथा पीएचडी विद्यार्थीलाई नयाँ प्रतिबन्धबाट छुट दिइने बर्कले बताएका छन्।
भिसा अवधि सकिएपछि बस्न नदिइने
अस्ट्रेलिया सरकारले भिसाको अवधि सकिएपछि पनि लामो समयसम्म देशमा बस्ने, अस्थायी भिसाबाट अर्को प्रकारको भिसामा परिवर्तन गर्ने प्रयास गर्ने तथा भिसा प्रणालीको दुरुपयोग गर्ने विद्यार्थीमाथि पनि कडाइ गर्ने जनाएको छ।
बर्कका अनुसार अस्ट्रेलियामा आफ्नो बसाइ विस्तार गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीले थप योग्यता पूरा गर्नुपर्ने व्यवस्था गरिनेछ। भिसाको अवधि सकिएपछि अस्ट्रेलिया नछाड्ने व्यक्तिको अनुगमन गर्न सरकारले थप १०० जना अधिकारी नियुक्त गर्ने भएको छ।
“अस्थायी रूपमा अस्ट्रेलिया आउन चाहनुहुन्छ भने अस्थायी भिसाका लागि आवेदन दिनुहोस्। स्थायी रूपमा आउन चाहनुहुन्छ भने स्थायी भिसाका लागि आवेदन दिनुहोस्,” बर्कले भनेका छन्। वैध भिसा नभएको अवस्थामा अस्ट्रेलिया छाड्नुपर्ने उनको भनाइ छ।
आवश्यक क्षेत्रमा दक्ष श्रमिकलाई प्राथमिकता
सरकारले आप्रवासनको संख्या घटाउँदै निर्माण र कृषिलगायत आवश्यक क्षेत्रमा दक्ष जनशक्ति भित्र्याउने नीति पनि अघि सारेको छ।
दक्ष श्रमिक भिसाका लागि आवेदनको मूल्यांकन गर्ने व्यवस्थामा संशोधन गरी आवश्यक क्षेत्रमा सीप भएका आप्रवासीलाई प्राथमिकता दिने तयारी गरिएको बर्कले बताएका छन्।
त्यस्तै ‘वर्क एन्ड होलिडे’ भिसा कार्यक्रमलाई पनि व्यवस्थित गर्न आवश्यक सुधार गर्ने सरकारको योजना छ।
हाल १२ महिनाको वर्क एन्ड होलिडे भिसामा अस्ट्रेलिया जाने व्यक्तिले क्षेत्रीय क्षेत्रमा ८८ दिन काम गरेपछि थप ६ महिनाको काम पूरा गरेर दोस्रो वर्षको भिसा प्राप्त गर्न सक्ने व्यवस्था छ।
सरकारका अनुसार करिब ४५ हजार योग्य वर्क एन्ड होलिडे भिसाधारीलाई दोस्रो वर्ष र ५ हजारलाई तेस्रो वर्षको भिसा उपलब्ध गराउने व्यवस्था रहेको छ।
बर्कका अनुसार सन् २०२५–२६ मा ५७ हजार व्यक्ति दोस्रो वर्ष र ३१ हजार व्यक्ति तेस्रो वर्षको भिसाका लागि योग्य भएका थिए।
सरकारले नयाँ नीतिमार्फत आप्रवासनको समग्र संख्या नियन्त्रणसँगै अस्ट्रेलियाको श्रम बजारलाई आवश्यक पर्ने दक्ष जनशक्तिलाई प्राथमिकता दिने जनाएको छ।