काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमक–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने कार्डियो मोनिटर र सक्सन मेसिन सहयोग गरेको छ।
बैंकको दमक शाखामार्फत उपलब्ध गराइएको उक्त उपकरण आकस्मिक स्वास्थ्य उपचारका लागि उपयोगी हुने बैंकले जनाएको छ। विशेषगरी सर्पदंशलगायतका आकस्मिक अवस्थाका बिरामीको उपचार तथा स्वास्थ्य निगरानीमा उपकरणले सहयोग पुर्याउने अपेक्षा बैंकले गरेको छ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीकी सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरेका थिए। उपकरण ग्रहण गर्दै सभापति बुढाथोकीले बैंकप्रति आभार व्यक्त गर्दै सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न कार्डियो मोनिटर र आकस्मिक श्वासप्रश्वाससम्बन्धी उपचारमा सक्सन मेसिन उपयोगी हुने बताइन्।
प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा उपलब्ध स्वास्थ्य स्रोतसाधनलाई थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उनको भनाइ थियो।
उक्त सहयोगले दमक क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य उपचार आवश्यक पर्दा सहजता पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ। कार्यक्रममा बैंकका कर्मचारी तथा नेपाल रेडक्रस सोसाइटीका अधिकृत र सदस्यहरूको सहभागिता रहेको थियो। बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।