सिटिजन्स बैंकद्वारा चार प्रतिशत लाभांश प्रस्ताव, २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत

0 Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल चार प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको बुधबार बसेको ५२१औँ सञ्चालक समितिको बैठकले ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट २०८३ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस शेयर वितरण गरिनेछ।

त्यस्तै, कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२० प्रतिशतले हुन आउने तीन करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा नगद लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ। यसअनुसार बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल ६२ करोड दुई लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी २०औँ वार्षिक साधारणसभामा पेस गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

२०६४ साल वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गरेको बैंकले विगत २० वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको छ। सर्वसाधारणका लागि शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै बैंकले आफ्ना शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ।

बैंकका अनुसार २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत कायम हुने बैंकले उल्लेख गरेको छ।

बैंकले अन्तर्राष्ट्रियस्तरको ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको जनाएको छ। फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकको दाबी छ।

यसैगरी, बैंकले युवा पुस्तालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित गरेर ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’समेत सुरु गरिएको बैंकले जनाएको छ।

मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने व्यवस्था पनि बैंकले गरेको छ। त्यस्तै, अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि उपलब्ध गराइएको छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार