काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकाले आफ्ना प्रमुख मिसाइल प्रतिरक्षा प्रणालीका आधा देखि दुईतिहाइसम्म इन्टरसेप्टर प्रयोग गरिसकेको अमेरिकी कंग्रेसनल बजेट अफिस (सिबिओ) को अनुमानलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
सिबिओका अनुसार प्याट्रियट, थाड, एसएम–३ र एसएम–६ लगायतका इन्टरसेप्टरको भण्डारमा ठूलो कमी आएको छ। उत्पादन दर बढाए पनि यी हतियारको भण्डार पुरानै स्तरमा पुर्याउन कम्तीमा पाँच वर्ष लाग्न सक्ने अनुमान गरिएको छ।
रोयटर्सका अनुसार मिसाइल प्रतिरक्षा इन्टरसेप्टर पुनः भण्डारण गर्न मात्रै करिब १३.१ अर्ब डलर लाग्ने अनुमान छ। समग्र हतियार भण्डार पुनःपूर्तिका लागि २१.७ अर्ब डलर र स्थल आक्रमण गर्ने क्रुज मिसाइल प्रतिस्थापन गर्न थप ७.३ अर्ब डलर आवश्यक पर्ने बताइएको छ।
सिबिओले भण्डार घट्दा भविष्यमा हुन सक्ने सम्भावित द्वन्द्वका लागि अमेरिकासँग उपलब्ध इन्टरसेप्टरको संख्या कम भएको जनाएको छ।
यद्यपि अमेरिकी रक्षा मन्त्रालयले आफ्नो वास्तविक इन्टरसेप्टर भण्डार सार्वजनिक नगरेकाले यो अनुमानमा आधारित आँकडा भएको रोयटर्सले जनाएको छ।