प्रचण्डको साथ छोडेका जनार्दनले भने–देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले अग्रगामी मोर्चा गठन

0 Shares

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्। काठमाडौँमा आठ दलको अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले लोकतान्त्रिक समाजलाई आत्मसात् गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मोर्चा बनाइएको प्रस्ट पारेका हुन्।

विगतका त्रुटिहरूलाई सुधारेर जनताप्रति उत्तरदायी बन्ने प्रतिबद्धता जनाउँदै शर्माले सामाजिक, सांस्कृतिक र आर्थिक विकासका लागि यो मोर्चा गतिशील रहने उल्लेख गरे। समाजमा विद्यमान सबै प्रकारका भेदभाव र छुवाछूत अन्त्य गर्दै सामाजिक न्याय कायम गर्ने लक्ष्य मोर्चाले लिएको उनले बताए।
मोर्चाले स्थानीय तहलाई प्रदेश मातहत ल्याउनका लागि सङ्घर्ष गर्ने रणनीति बनाएको छ। बहिष्करणमा पारिएका समुदायले अझै पनि समानताको अधिकार प्रयोग गर्न नपाएको औँल्याउँदै शर्माले संविधान संशोधन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता औँल्याए।

युवाहरूको बेरोजगारी समस्या समाधान गर्न सीपमूलक युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने र कल्याणकारी राज्य निर्माणका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने प्रतिबद्धता मोर्चाले जनाएको छ। त्यसै गरी वास्तविक र नक्कली सुकुमबासीको पहिचान गरी उनीहरूका समस्या स्थायी रूपमा समाधान गर्न अग्रगामी मोर्चाले पहल गर्ने शर्माले बताए।

मोर्चाको साङ्गठनिक संरचना जिल्ला र प्रदेश तहसम्म विस्तार गरिने तथा आवश्यकता अनुसार भातृ सङ्गठनहरू समेत गठन गरिने अवधारणा पत्रमा उल्लेख छ। मोर्चामा सामूहिक निर्णय प्रणाली अपनाइने र सर्वसम्मत निर्णय हुन नसकेमा लोकतान्त्रिक प्रक्रियामार्फत निर्णय लिइने शर्माले जानकारी दिए।

सम्बन्धित समाचार