काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकारको सत्ता समीकरणसम्बन्धी गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको हो। राप्रपा केन्द्रले प्रदेश सरकारमा सहभागी नहुन निर्देशन दिएपछि सरकार गठन प्रक्रियामा कतै सहभागी नहुने भएको हो ।
बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय तथा निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने प्रस्ताव सर्वसम्मतिले पारित गरेको जनाएको छ।
संसदीय दलले तत्कालीन राजनीतिक समीकरणका आधारमा सरकार गठनको दौडमा नरहने स्पष्ट गर्दै पार्टीको निर्णयअनुसार आगामी राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ।