किन कुटिए अशोक दर्जी ? कुटपिट गर्नेविरूद्ध प्रहरीमा गत महिना नै दिएका थिए उजुरी

0 Shares

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् ।

गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ ।

केही सेकेन्डको भिडियो हिजो राति अभियन्ता विनयजंग कुँवर र पूजा कुँवरले सेयर गरेका थिए । भिडिओको स्रोतबारे उनीहरुले बताएका छैनन् । अशोक खराब संगतमा परेको उनीहरुको भनाइ छ ।

सार्वजनिक भएको भिडिओमा केही व्यक्तिहरूले अशोकलाई घेरेर कुटपिट गरेको र पैसाको लेनदेनका विषयमा आरोप लगाएको देखिन्छ ।

अशोक दर्जीले उक्त घटना करिब एक महिना अगाडिको एउटा योजनाबद्ध ‘ट्र्याप’ भएको बताएका छन् ।

अशोकले दिएको निवेदन अनुसार, उनी करिब एक महिनाअघि बिर्तामोडस्थित आफ्नो मावली घर गएका थिए ।

सोही क्रममा बिर्तामोडको महानन्द चोक नजिकै साथीहरुसँग खाजा खाइरहेका बेला ‘अङ्कित’ नामको साथीले ‘काजी दाइ’सँग १ हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएको निवेदनमा उल्लेख छ ।

घटनाको एक हप्तापछि देवीबस्ती गेट नजिकै स्कुटीमा पेट्रोल हालिरहेको अवस्थामा अङ्कित, शशांक प्रधान र ‘गुन्द्रुक’ भन्ने व्यक्तिले आफूलाई अचानक घेरेको उनले बताएका छन् ।

उनीहरूले ‘हजार रुपैयाँ चोरेको’ आरोप लगाउँदै कुटपिट गरेको र सोही क्रममा मोबाइलबाट भिडिओ खिचेको निवेदनमा उल्लेख छ ।

अशोक दर्जीले आफ्नो उजुरीमा ती व्यक्तिहरूले नियोजित रूपमा भिडिओ बनाएर सामाजिक सञ्जालमा फैलाएको र आफ्नो भविष्य तथा सामाजिक प्रतिष्ठामाथि खेलबाड गरेको बताएका छन् । उनले पटक–पटक उक्त भिडिओ हटाइदिन आग्रह गर्दा पनि उल्टै धम्की दिइएको गुनासो गरेका छन् ।

‘मेरो सामाजिक प्रतिष्ठा र भविष्यमाथि गम्भीर चोट पुर्‍याइएको छ । ती व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरियोस् र मलाई न्याय दिलाइयोस्,’ दर्जीले निवेदनमा माग गरेका छन् ।

भिडिओ सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा अशोक दर्जीको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ । भिडिओमा उनी निकै डराएको र निरीह अवस्थामा देखिएका छन् ।

धेरैले सानै उमेरमा चर्चामा आएका कलाकारलाई संरक्षण गर्नुको साटो यसरी दुर्व्यवहार गरिनु दुःखद भएको टिप्पणी गरेका छन् ।

अशोक दर्जी सानो उमेरमा भाइरल भएपछि संगीतकार टंक बुढाथोकीले उनलाई संरक्षण गरेका थिए । टंको संगीतमा अशोकले गाएको ‘मन बिनाको धन’ गीत सुपरहिट छ ।

हालैमात्र उनी टंकको साथ छोडेर आफ्नो परिवारमा फिर्ता भएका हुन् । अशोक दर्जीले गायनसँगै चलचित्रमा पनि काम गरिरहेका छन् ।

सम्बन्धित समाचार