निर्देशित कर्जा लगानीबाट प्रतिफल आएन, बैंकिङ क्षेत्रमाथि गलत भाष्य बनाइयो: मनोज ज्ञवाली

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अनिवार्य गरेका क्षेत्रमा गरिएको कर्जा लगानी (निर्देशित कर्जा) बाट उचित प्रतिफल आउन नसकेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले औंल्याएका छन् । संघीय संसद्को प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले तोकिएका क्षेत्रको कर्जा लगानीले अर्थतन्त्रमा खासै योगदान पुर्‍याउन नसकेको दाबी गरे ।

बैंकहरूले आफ्नो कुल कर्जाको ४५ प्रतिशत हिस्सा तोकिएका क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै सीईओ ज्ञवालीले भने, ‘ऊर्जाबाहेकका अन्य निर्देशित क्षेत्रमा भएको लगानी अनुसारको प्रतिफल प्राप्त हुन सकेको छैन ।’ अर्थतन्त्रलाई टेवा पुग्ने भन्दै कृषि, लघुउद्यम लगायतका क्षेत्रमा लगानी अनिवार्य गरिए पनि त्यसले वास्तविक उत्पादन बढाउन मद्दत नगरेको बरु खराब कर्जा (डिफल्ट) को समस्या झन् बढाएको उनको भनाइ छ । त्यसैले आगामी मौद्रिक नीति कर्जाको माग बढाउने गरी मात्र आउन नहुने उनले स्पष्ट पारे ।

खराब कर्जा वर्गीकरण र धितो सम्बन्धी व्यवस्थामा सुधारको माग

सीईओ ज्ञवालीले खराब कर्जा (NPL) वर्गीकरण गर्ने विद्यमान व्यवस्थालाई खुकुलो बनाउन सुझाव दिएका छन् । उनले ऋण तिर्न नसक्ने ऋणीहरू स्वेच्छिक हुन् वा परिस्थितिका कारण समस्यामा परेका हुन् भन्ने कुरा वर्गीकरण गर्नुपर्ने बताए । जानीजानी ऋण नतिर्नेहरूका लागि अहिलेको एक वर्षको अवधि पनि धेरै हुने तर वास्तविक समस्यामा परेका व्यवसायका लागि खराब कर्जा वर्गीकरणको समय थपिनुपर्ने उनको तर्क छ । माग नै नभएको क्षेत्रमा जबरजस्ती कर्जा लगानी गर्न निर्देश गर्दा बैंकिङ क्षेत्रमा जोखिम बढेको उनले औंल्याए ।

लगानी विस्तारका लागि बैंकहरूलाई पूँजी कोषको दबाब रहेको भन्दै उनले पूँजी वृद्धिको अनुमति दिन राष्ट्र बैंकलाई आग्रह गरे । कर्जा प्रक्रियालाई सरल बनाउन धितो राखिने सम्पत्ति जसको नाममा छ, उसैले हस्ताक्षर गरेपछि कर्जा पाउने र धितोमा पहिलो हक बैंकको हुने कानुनी व्यवस्था गरिए ऋणीका परिवारले अनावश्यक दुःख नपाउने उनले बताए ।

बैंकिङ क्षेत्रको नाफाबारे गलत भाष्य

देशको कुल राज्य आय (आयकर) मा बैंकिङ क्षेत्रले मात्रै १३ प्रतिशत योगदान पुर्‍याएको तथ्य प्रस्तुत गर्दै ज्ञवालीले बैंकहरूले नाफा कमाउँदा सरकारलाई नै बढी फाइदा हुने स्पष्ट पारे । वित्तीय क्षेत्र संकटमा पर्दा राज्यकै आम्दानी प्रभावित हुने भएकाले सरकार र मौद्रिक नीति दुवैले बैंकिङ क्षेत्रलाई सहजीकरण गर्नुपर्ने उनको सुझाव छ ।

बैंकहरूले धेरै नाफा कमाए भनेर बजारमा गलत भाष्य स्थापित गरिएकोमा असन्तुष्टि जनाउँदै उनले अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रका लगानीकर्ताले पाउने प्रतिफल अत्यधिक न्यून रहेको बताए । सुरक्षित र दिगो अर्थतन्त्रका लागि बैंकहरूलाई उपयुक्त नाफा कमाउन पाउने वातावरण निर्माण गरिदिनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार