काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।
सोमबार अनुपम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् ।
गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायत मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएका थिए । त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।
उक्त आदेशपछि अधिवक्ता भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो । सर्वोच्चमा दायर उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आगामी बुधबारका लागि पेसी तोकिएको छ ।
लामिछाने सहकारी ठगीमा जोडिएको र उनलाई कारबाही गर्नु पर्ने माग उठ्दै आएको बेला महान्यायाधिवक्ताको कार्यालयले उनलाई क्लिनचिट दिएको थियो ।