काठमाडौं । नगरवासीलाई निशुल्क बिजुली र पानी दिने योजनासहित रौतहटको मौलापुर नगरपालिकाले बजेट ल्याएको छ । दशौं बजेट अधिवेशनको आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा महत्त्वपूर्ण योजनालाई निरन्तरता दिइएको छ । झन्डै ४२ करोड ३० लाख रुपैयाँको प्रस्तुत बजेट वक्तव्यमा मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले विगतदेखी महत्त्व दिँदै राखिएका योजनालाई यस बजेटमा पनि निरन्तरता दिएकी छन् ।
मौलापुर नगरपालिकामा प्रस्तुत बजेटमा नगरपालिकाले ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ लाई पनि निरन्तरता दिइएको छ । नगरवासीलाई ‘निःशुल्क बिजुली’, ‘निःशुल्क पानी’ तथा छोरीसँग मेयर कार्यक्रम’लाई निरन्तरता दिइएको छ । दलित समुदायका लागि नमुना एकीकृत दलित बस्ती निर्माण तथा ‘कच्ची सडक मुक्त नगर’ यो जना छ । चालु आवको विकास कार्यक्रमको समीक्षा गर्दा मौलापुर नगरपालिकाले अगाडि बढाएको नगर गौरवका आयोजनाहरू गुणस्तरीय शिक्षा, सेनरिनया एकीकृत दलित बस्ती, पिकनिक पार्क, मोडेल प्राविधिक शिक्षालय जस्ता आयोजना सफल भएको छ ।
यसैगरी नगरपालिकाद्वारा सञ्चालित कार्यक्रमहरू धुवाँमुक्त अभियान, कच्ची सडकमुक्त नगर, निःशुल्क बिजुली, निःशुल्क पानी, बेटीके साथ मेयर, साक्षरता अभियान, झोपडीमुक्त नगर जस्ता अभियानहरूले नगरको गौरब बढाएको छ । शासक होइन, सेवकको मान्यतालाई आत्मसात गर्दै नगर प्रहरीको साट्टा नगर शिक्षक र नगर चिकित्सकको व्यवस्था गरेर जनताको वास्तविक सेवक व्यवहारतह स्थापित गरेको साहले बताइन् ।
‘जनतामाथि बोझ होइन, जनताको सहारा हौं भन्ने मन्त्र अनुरुप जनताबाट कुनै किसिमको शुल्क, महसुल, कर र राजस्व नलिने ‘शून्य कर’ नीति अवलम्बन गरेको उनले बताएकी छन् ।
उनका अनुसार मौलापुरले छोरीहरूको बिहेमा जनही ३० हजार रुपैयाँको दरले आर्थिक सहयोग गर्दै आएको छ ।