काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न केन्द्रीय सदस्यको निर्वाचनमा चौथो लोकप्रिय मत ल्याएका सागर ढकालले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विजयी भए लगत्तै उनले पार्टीको आगामी नेतृत्वका लागि ‘महामन्त्री’ पदमा उम्मेदवारी दिने बताएका हुन् ।
ढकालले आफूलाई पहिलो चार जनाभित्र पारेर अत्यधिक मतका साथ विजयी गराएकोमा मतदाता र समर्थकहरूप्रति आभार प्रकट गरेका छन् ।
मतपत्रमा नाम खोज्न निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘मतपत्रमा नाम खोज्न एकदमै गाह्रो हुँदाहुँदै पनि मलाई पहिलो चार जनाभित्र पारेर अत्यधिक मतका साथ विजयी गराउनु भएकोमा यहाँहरू सबैलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।’
ढकालले अब आफू पार्टीभित्र केवल सल्लाहकारको भूमिकामा मात्र सीमित नरहने प्रष्ट पारेका छन् । उनले संगठनलाई सही दिशा दिन ‘कुशल चालक’ (ड्राइभर) को भूमिका निर्वाह गर्ने संकल्प गरेका छन् ।
‘यो जित हजुरहरूकै हो । अबका दिनमा पार्टीभित्र सल्लाहकारको भूमिकामा मात्र सीमित नभई, एउटा कुशल चालक (ड्राइभर) बनेर देश र संगठनलाई सही दिशामा डोर्याउनु पर्नेछ,’ ढकालले लेखेका छन् ।
पार्टीको अधिवेशनका क्रममा समय व्यवस्थापनको महत्त्व झल्केको भन्दै उनले अबका दिनमा समयको कडा पालना गर्ने र गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । समयको अनुशासन नै संगठनको सफलताको आधार हुने उनको बुझाइ छ ।
केन्द्रीय सदस्यमा बलियो मत पाएपछि उत्साहित बनेका ढकालले दोस्रो चरणको प्रक्रिया अन्तर्गत महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् ।
उनले भनेका छन्, ‘अब दोस्रो चरणमा मैले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । सदाझैँ यहाँहरूको माया, साथ र सद्भावको अपेक्षा गर्दछु ।’